झापा : झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ले वडाका ज्येष्ठ नागरिकहरूलाई तीर्थ भ्रमण गराएको छ । 

आज वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच वडाका ३० जना ज्येष्ठ नागरिकहरूलाई बिदाइ गरिएको छ । वडाध्यक्ष मखना महतोका अनुसार ती ज्येष्ठ नागरिकहरूलाई इलामस्थित पाथीभरा मन्दिरको दर्शनका लागि पठाइएको हो । 

कार्यक्रममा वडाध्यक्ष महतोले आफूले निर्वाचनताका गरेको प्रतिबद्धता अनुसार विभिन्न कामहरू गरेको र ज्येष्ठ नागरिकहरूलाई भने सदैव श्रद्धा र सम्मान गरिरहेको उल्लेख गरे । उनले ज्येष्ठ नागरिकलाई खुसी राख्न सके मात्र धर्म मिल्ने बताए । वडाध्यक्ष महतोले भने, “धर्म गर्न तीर्थ व्रत हैन ज्येष्ठ नागरिकको सेवा गरौँ, त्योभन्दा ठुलो धर्म के चाहियो र ?”  

यस्तै वडाले आजै वडाभित्र रहेका अपाङ्गता भएका ब्याक्तीहरुलाई न्यानो कपडा समेत वितरण गरेको छ । सोही अवसरमा वडाध्यक्ष महतोले अपाङ्गता भएका ब्याक्तीलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको धारणा राखे ।  

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।