धरान : पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगलागी भएको छ । 

शनिवार साँझ ८ बजे बजारको बिचमा भएको झरेन्द्र खतिवडाको घरबाट आगलागी भएको स्थानीय सञ्चारकर्मी कुमार खड्काले जानकारी दिएको फिदिमका सञ्चारकर्मी विजयबोध लावतीले बताए ।

कुम्मायक गाउँपालिका १ मा रहेको यासोक बजारको बिच भागमा रहेको खतिवडाको घरमा आगलागी भए पछि यासोक बजारमा आगलागीले ठुलो क्षति पुर्याउने त्रास फैलिएको थियो ।

स्थानीयवासी र प्रहरीले करिब १ घण्टाको अवधिमा आगलागी नियन्त्रणमा लिएको कुम्मायक गाउँपालिका वडानं. १ का अध्यक्ष देवेन्द्रकुमार लावतीले कपुरी न्युजलाई जानकारी दिए । अध्यक्ष लावतीका अनुसार खतिवडाको घर पुर्णरुपमा क्षति पुगेको र सो घरमा रहेका ४ वटा पसलमा क्षति पुगेको छ । 

पाँचथरको सदरमुकाम फिदिमबाट २८ किलोमिटर पश्चिम दक्षिणमा रहेको यासोक बजारमा आगलागी भएको खबर पाएपछि फिदिम नगरपालिबाट दमकल आगो नियन्त्रणमा आइसकेपछि मात्रै  यासोक बजार पुगेको थियो ।

यासोक बजारमा लागेको आगलागीलाई तमोर लिफ्टीङको पानीले जोगाएको वडाध्यक्ष लावतीले बताए । यदि तमोर लिफ्टीङको पानी नभएको भए यासोक बजारमा आगलागीले ठुलो क्षति पुर्याउने अध्यक्ष लावतीको भनाई छ । आगलागीको क्षतिको पूर्ण विवरण भने यो समाचार तयार पारुन्जेल सम्म आईकेको छैन ।