धरान : धरानमा कोरोना विरुद्धको ३ हजार ५ सय ९७ जनाले बुस्टर डोज खोप लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जनाले र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।  

पछिल्लो समय फेरि धरानमा दोस्रो मात्रको कोरोना विरुद्धको खोप अभियान सञ्चालनको तयारी भइरहेको पनि स्वास्थ्य महाशाखाले जनाएको छ । पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा कोरोना विरुद्धको कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाउने तयारी भइरहेको बताइएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् ।