धरान : नेपाली काँग्रेसले पार्टी सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियान वडा वडामा गर्न सुरु गरेको छ । 

नेपाली काँग्रेस क्षेत्र नं. १,  सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको सुरुवात गरेको हो । 

कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी सङ्गठनको सशक्तीकरण र सुदृढीकरण अभियान मार्फत काँग्रेस जनजनमा जागरण ल्याउन र सङ्गठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए ।

उनले सङ्गठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जबाफदेही र उत्तरदायी बनाउँदै जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाई सङ्गठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको बताए ।

क्षेत्रीय सभापति तथा प्रदेश १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेता कार्यकर्ताहरूको बोली व्यवहार सभ्य हुनुपर्ने, लोभलालचमा नपर्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा आफूले टिकट पाउँदा मात्र खट्ने मनस्थिति हुनुनहुने र टिकट वितरण गर्दा नेतृत्व चुक्नु नहुने बताए । उनले रामधुनी ७ को पञ्चायानमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए ।

रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउँदा काँग्रेसको सङ्गठन खस्केको बताए । उनले एमसीसी लगायतको राष्ट्रिय मुद्दामा काँग्रेस स्पष्ट हुनुपर्ने बताए ।

महाधिवेशन प्रतिनिधि ममता तामाङले केन्द्रीय नेताले हरेक मुद्दाहरूमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए । पूर्व जिल्ला सदस्य रामराज महतले पहिलो पटक पार्टी नेताहरू यसरी शुद्धीकरणको कार्यक्रम लिएर वडा वडामा आएको भन्दै यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्दा पैसाको आधारमा नभई लोकप्रियता, क्षमता, इमान्दारीता र योगदानको आधारमा छनौट गर्नुपर्ने बताए ।

क्षेत्रीय सचिव केशव पुरीले कार्यकर्ताको सही मूल्याङ्कन गरी अवसर प्रदान गरिनुपर्ने बताए । प्रदेश प्रतिनिधि सरिता चौधरीले सङ्गठन गर्नुका साथसाथै टोल र बस्तीका जनताहरूको समस्या समेत पहिचान गरी त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताए । उनले बक्लौरी १ र २ खानेपानीको अभाव रहेको र खोला नियन्त्रणमा ध्यान नपुगेको बताए ।

रामधुनी ७ का वडा सभापति जगतबहादुर राईले पार्टी नेतृत्वहरू गाउँ बस्तीमा आउँदा आफूहरूलाई हौसला र ऊर्जा मिलेको भन्दै गठन गर्न बाँकी टोल समितिहरू गठन गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई चलायमान बनाउने, वडाका बस्तीहरूमा घुम्ती बैठक बस्ने, नियमित रूपले बैठक बस्ने र विविध कार्यक्रमहरू गरिने बताए । स्थानीय विकास निर्माणका योजनाहरू  लिएर डेलिगेसन जाने समेत उनले बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तथा सञ्चालन क्षेत्रीय सहसचिव सुमित  राईले गरेका थिए भने टिपोट क्षेत्रीय सहसचिव भोजराज न्यौपानेले गरेका थिए ।