धरान : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन् । 

इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा सांस्कृतिक भवन उत्तर पट्टि भवनको शिलान्यास गरेका हुन् । ९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपियाँको लागतमा छ तले भवन निर्माण हुने बताइएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरपालिकामा भएका विकास निर्माणका कार्यको प्रशंसा गरे । जनताको स्वार्थभन्दा ठुलो कुनै पनि वाद,सिद्धान्त हुन नसक्ने उनको भनाई छ ।

उनले जनप्रतिनिधिहरू जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्नेमा जोड दिए । पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले स्थानीय तहहरूले आधारभूत रूपमा उल्लेख्य कार्य गरेको बताए । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफ्नो कार्यकालमा इटहरीको विकास र संवृद्धिका लागि उल्लेख्य कार्य भएको बताए । जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फड्को मारेको उनको दाबी छ । अव बाँकी १ सय दिनमा पचास बढी योजना उद्घाटन र शिलान्यास हुने प्रमुख चौधरीले जानकारी दिए ।

उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण पाँच सय दिन विकास निर्माणका काम प्रभावित भए पनि भौतिक पूर्वाधार निर्माणमा इतिहास रच्न सफल भएको बताइन् । उनले गाउँ गाउँका सडक कालोपत्रे भएको,२ वटा बाहेक सबै वडा कार्यालय भवन निर्माण, १४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिए ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीले स्वागत गरे । इटहरी वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर जीवन घिमिरेले भवनको प्राविधिक पक्ष र लागतका बारेमा प्रस्ट पारेका थिए ।

यसैबिच पूर्व उपप्रधानमन्त्री पोखरेलले आजै इटहरी वडा नम्बर १७ खर्सेला खोलामा निर्मित पुलको उद्घाटन गरे । २२ लाख १ हजार लागतमा निर्मित पुलको उद्घाटन पोखरेलले गरेका हुन्  । कार्यक्रम वडा नम्बर १७ का अध्यक्ष भगवान् लाल शाहको अध्यक्षतामा भएको थियो ।