विराटनगर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र हल गर्ने बताएका छन् । 

विराटनगरमा बिहान संवाद समूहले आयोजना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरूले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराइने बताएका हुन् ।

‘अहिले बिमा बापतको रकम भुक्तानी हुन नसक्नुको कारण भनेको  कर्मचारी अभावले हो, उनले भने, त्यो समस्या समाधान गर्नकालागि तत्काल कर्मचारी व्यवस्थापन गरेर एक महिना भित्र बिमाको रकम भुक्तानीको लागि वातावरण बनाइने छ ।’

उनले कोशी अस्पतालको सुधारकोलागि काम सुरु भएको बताएका छन् । भौतिक पूर्वाधार निर्माणमा काम सुरु भएको  दाबी गर्दै उनले अब सुविधा सम्पन्न अस्पतालको रूपमा अघि बढेको उनले बताए । 

‘संरचना बन्ने काम सुरु भएको छ, अब सुविधा सम्पन्न अस्पतालको विकास हुँदैछ । उनले भने, बिमा काजका कर्मचारीबाट चलाएको अवस्था थियो, अब बिमाका लागि ५० जनाको हाराहारीमा कर्मचारी थपेर व्यवस्थित गर्ने काम सुरु गरिएको छ ।’

कोभिडका कारण  स्वास्थ्य क्षेत्रको बजेट ८ प्रतिशत पुग्नुले स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको बताए । ‘स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार निर्माण भएको देख्नुभएको छ, त्यो भनेको कोभिडका कारण आएको बजेट कार्यान्वयनको अवस्था हो । उनले भने, समग्र बजेटको २ प्रतिशतमा चलेको स्वास्थ्य  क्षेत्रमा अहिले  ८ प्रतिशत बजेट बढेको छ, यसले काम अघि बढेको छ ।’