धरान : नेवा च्यारेटी १० के धरान रन फागुन ७ गते हुने भनिएकोमा कोरोना महामारीको कारण १५ दिन पछि फागुन २१ गते हुने गरी सरेको छ ।

धरान रनले आज एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । धरान रनका अध्यक्ष रोमु राईले पछिल्लो समय तेस्रो लहरको कोरोना महामारी अझै कायमै रहेकोले स्वास्थ्य मापदण्डको पुर्णपालना गर्नुपर्ने, कोरोनाकै कारण सहभागीहरूले पनि कम नाम दर्ता गराएको र प्रशासनले पनि ठुलो भिडभाड हुन नदिने भएकोले १५ दिन पछि कार्यक्रम सारिएको बताए । 

अहिले सम्म हजार भन्दा बढीले १० के धरान रनका लागि नाम दर्ता गराई सकेको र पछिल्लो समय कोरोना संक्रमणदर कम भएसँगै नाम दर्ता गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको अध्यक्ष राईले बताए । 

यसपालि १० औँ संस्करणलाई वृहतरुपमा आयोजना गर्ने धरान रनले जनाएको छ । धरान रन १० वर्ष पुरा भएको अवसरमा यस पटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने बताउँदै आएकोमा यस पटक कोरोना महामारीले पनि प्रभावित बनाएको बताइएको छ । यसपालि नेपालकै धेरै धावकधाविकहरु सहभागी गराइने लक्ष लिइएको र जनचेतनामूलक कार्यक्रम सहित विह्वल चेयर रेस पनि आयोजना गरिने अध्यक्ष राईले बताए ।

खेलाडीहरूलाई दर्ता शुल्क ४ सय र विद्यार्थीहरूलाई ३ सय तोकिएको छ । साथै, प्रतियोगितामा १७ वर्षदेखि ३९ वर्षसम्म भित्रका खुल्ला दौडमा अघिल्लो संस्करणको भन्दा १० हजार पुरस्कार राशि पनि वृद्धि गरिएको छ ।

मुख्य प्रतिस्प्रर्धामा प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् । १२ वर्षमुनिको समूहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइनेछ भने १२ देखि १६ वर्षसम्म भित्रकाले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् ।

यस्तै, ४० वर्षदेखि माथिका भेट्रान दौडका विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् । यस पटक कम्तीमा ३ हजार भन्दा बढी धावक धाविकालाई सहभागी गराइने बताइएको छ । यसपटक यस भन्दा पहिले धरान रनमा विजेता भएका धावकहरू, भारतीय धावक, दार्जिलिङ र सिक्किमका धावक धाविकाहरूको पनि सहभागिता हुने धरान रनले जनाएको छ ।