धरान : धरान उपमहानगरपालिकामा यस भन्दा अघि कोरोना विरुद्धको पहिलो खोप भेरोसेल लगाएकाहरूलाई दोस्रो मात्रा खोप बुधवार र बिहीबार लगाईदैछ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार बुधवार पहिलो दिन धरान १ देखि १० नम्बर वडाकालाई र दोस्रो दिन बिहीबार धरान ११ देखि २० नम्बर वडाकालाई दुई चरणमा दोस्रो मात्रा खोप लगाइने भएको छ । 

धरानमा पछिल्लो समय भेरोसेलको पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्राको खोप लगाउने समय भएकोले बुधवार र बिहीबार दुई दिनमा २७ हजारलाई लक्षित गरेर खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

अहिले सम्म धरान उपमहानगरपालिकामा १५ हजार खोप आइसकेको र थप बाँकी खोप गरी दुई दिनमा २७ हजार जनालाई दोस्रो मात्राको खोप लगाइनेछ । 

दोस्रो मात्राको खोप लगाउन पहिले लगाएको खोप कार्ड सहित सम्बन्धित खोप केन्द्रमा बिहान ११ बजे देखि ४ बजे सम्ममा उपस्थित भई खोप लगाउन धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आग्रह गरेको छ । 

Khop-A