धरान : धरान उपमहानगरपालिकाको १० औँ नगरसभा विभिन्न निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ । 

नगरसभाले नवौँ नगर सभामा पारित गरेको चालु आर्थिक वर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा आज भएको दसौँ नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरी आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गरेको हो । आन्तरिक आयतर्फ अनुमान गरे अनुसार नहुने भएकोले अनुमानित आयतर्फ १० प्रतिशत घटाएर कायम गर्ने प्रस्ताव पारित गरेको छ । 

गएको माघ २८ गते उद्घाटन भएको नगरसभामा विनियोजन ऐन २०७८ को अनुसूची २ मा संशोधन प्रस्ताव पेस भएको थियो । नवौँ नगरसभाले पारित गरेको विनियोजन ऐनमा अनुमानित आन्तरिक आयतर्फ ७७ करोड ३८ लाख ६६ हजार २५० अनुमान गरिएको थियो । उक्त अनुमानित बजेटमा १० प्रतिशत घटाएर ६९ करोड ६४ लाख ७९ हजार ६२५ कायम गर्न दसौँ नगरसभामा पेस भएको संशोधन प्रस्ताव पारित भएको छ ।

नगरसभाले अनुमानित आन्तरिक आय घटाएपछि चालु आर्थिक वर्षमा विनियोजन गरिएको कार्यक्रमहरू पनि कटौती गरेको छ । ‘वडाहरूको आन्तरिक आयबाट खर्च हुने गरी विनियोजन गरिएको कार्यक्रम र नगर स्तरीय महाशाखाहरूको पनि १० प्रतिशत कार्यक्रमहरू घटाउने प्रस्ताव पारित भएको छ ।’

यसै गरी नगरसभाले आर्थिक ऐन २०७८ मा पनि संशोधन गरेको छ । ऐनको दफा ४ मा उपदफा ४ थप गर्न दसौँ नगरसभामा प्रस्ताव पेस भएको थियो । उक्त उपदफामा घर बहाल करमा २०७८ चैत मसान्तसम्म बुझाउँदा लाग्ने जरिवाना छुट गर्ने भन्ने उल्लेख छ । सोही प्रस्ताव पनि पारित भएको छ ।

नगरसभाले उपमहानगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ र सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७८ पनि पारित गरेको छ ।  यसै गरी उपमहानगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७८ पनि नगरसभाले पारित भएको छ ।