झापा : झापाका दुई स्थानीय तहले भोलि बुधवार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । किचकवध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले बुधवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् । अघिल्लो वर्ष बाह्रदशी र हाल्दिबारी गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेका थिए ।

भद्रपुर नगरपालिकाकाले सूचना जारी गर्दै किचकबध मेलाका दिन स्थानीय बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । नगर कार्यपालिका अन्तरगत रहेका सबै निकाय र शैक्षिक संस्थामा बिदा दिइएको उनले बताए ।  त्यस्तै कचनकवल गाउँपालिकाले पनि भोलि स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

यस वर्ष किचकबध मेला नलाग्ने

महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा यस बर्षपनि कोरोना महामारीका कारण नलगाइने भएको छ ।  किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले फागुन १ गते सूचना प्रकाशन गर्दै कोरोना महामारीका कारण यसबर्ष पनि किचकबध मेला नलगाउने निर्णय गरेको जानकारी गराएको हो । हरेक वर्ष माघ शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन स्वतःस्फूर्त रूपमा किचकवध मेला लाग्दै आएको छ । भोलि ९बुधवार० फागुन ४ गते किचकवध मेला लाग्ने दिन परेको छ ।  

सरकारले मेला, महोत्सव र समारोह जस्ता कार्यक्रममा अत्यधिक भिडभाड नगर्न निर्देशन जारी गरेकोले यस वर्ष किचकबध मेला नलगाउने निर्णय गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । अघिल्लो वर्ष पनि कोरोना सङ्क्रमणका कारण मेला आयोजना गरिएको थिएन । मेला नलागे भए पनि धार्मिक आस्था लिएर पूजा अर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूलाई रोकटोक लगाउन नसकिने उनको भनाई छ।

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकवधको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास छ । यस स्थानमा पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ । सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइएको बताइन्छ ।

jhapa-chhuti-letter