धरान : एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जन गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले आह्वान गरेको बन्दको प्रभाव प्रदेश एकमा न्यून देखिएको छ।
बिहानैबाट धरान, इटहरी, दमक, बिर्तामोडबाट लामो तथा छोटो दुरीका सावरी साधनहरू निर्बाध रूपमा चलिरहेको छन्। धरानमा शैक्षिक संस्थाहरू बन्द छन् भने बजार तथा पसलहरू नियमित झैँ खुला छन् ।
इटहरीमा बन्दको आंशिक प्रभाव देखिएको छ । बन्दकर्ता सडकमा नदेखिएकाले बजार पसल निर्बाध रूपमा सुचारु भएका छन् । बिहान सवारीसाधनको उपस्थित कम देखिएपनी दिउसोबाट मालवाहक तथा यात्रुवाहक सवारीको सङ्ख्या बढ्दै गएको छ ।  सडकमा बन्दकर्ताहरुको उपस्थिति कहीँ कतै देखिए पनि झापामा बन्दको प्रभाव भने नपरेको झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । 
बन्द गराउँदै हिँडेका चार जना पक्राउ
यसैबिच, एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चार जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना रहेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।
कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना र काँकडभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए । 
कालीखोलाबाट विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेकोमा एक जना बिरामी भएकाले छोडिएको डिएसपी पाठकले जानकारी दिए ।