झापा : दमकमा रहेको एडभान्स अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ ।

अस्पतालका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा आज बिहान भएको एक औपचारिक कार्यक्रमका बिच दमक वडा नम्बर ७ का वडाध्यक्ष भीम पौडेलले मेसिनको उद्घाटन गरेका हुन् । 

उक्त सिटी स्क्यान सेवा दमकमै पहिलो भएको दाबी गरिएको छ । यस अघि दमकमा कुनै बिरामीको सिटी स्क्यान गर्न परे बिर्तामोड वा विराटनगर धाउनु पर्ने बाध्यता रहेको थियो । सिटी स्क्यान सेवा शुभारम्भको अवरमा बोल्ने वक्ताहरूले दमकलाई स्वास्थ्य सेवाको हब बनाउन यहाँ भएका अस्पतालहरूले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाली काँग्रेस दमक नगर सभापति प्रकाश प्रसाईँ, उद्योग वाणिज्य सङ्घ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी दमक उप शाखा सभापति प्रकाश बुढाथोकी लगायतले दमकमा रहेका अस्पतालहरूले आपसी सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए । 

एडभान्सले सिटी स्क्यान सुरु गरेकोले अब यहीँ एमआरआई लगायतका अत्याधुनिक मेसिनहरू पनि ल्याएर यस क्षेत्रका जनतालाई सुलभ स्वास्थ्य सेवा दिनु पर्ने वक्ताहरूले औंल्याएका थिए । 

आजैबाट बिरामीको सिटी स्क्यान गर्न सकिने अस्पतालका सञ्चालक तथा निर्देशक चैतन्य बरालले बताए ।  अत्याधुनिक प्रविधि सहितको मेसिन जडान गरिएकोले अब यस क्षेत्रका बिरामीलाई सहज भएको उनले बताए । अन्यत्रको भन्दा सरल रकममा सेवा दिन आफूहरू तयार रहेको बरालको भनाइ छ ।