धरान : छोराको स्मृतिमा विराटनगरमा पाँच लाख धनराशिको उत्कृष्ट प्रहरी पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ निवासी अवकाश प्राप्त प्रहरी  नायव उपरीक्षक बद्री विक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी विमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । सवारी दुर्घटनामा परी दिवङ्गत भएका विप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले “ विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कार”  कोषको स्थापना गरेका हुन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गरेका हुन् । उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष नगद रु. २५ हजार तथा प्रशंसा–पत्र द्वारा सम्मान प्रदान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरूको मनोबल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाखको अक्षयकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औँ प्रहरी दिवसबाट “ विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताए ।