धरान : वगरकोट होटल व्यवसायी मञ्च धरान १५ ले गोर्खा ब्रुअरीका धरान सेल्स म्यानेजर विजय बजगाईँ र डिलर इन्चार्ज कृष्ण अधिकारीलाई सम्मान एवं बिदाइ गरेको छ ।

मञ्चले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गर्दै बिदाइ गरेको हो । वगरकोटको पर्यटन पर्वद्धनमा आफ्नो कम्पनी मार्फत विशेष सहयोग गरेकोले उनीहरूको सहयोगलाई कदर गर्दै ससम्मान बिदाइ गरिएको वगरकोट होटल व्यवसायी मञ्चका अध्यक्ष जीवन मेन्याङ्बोले बताए ।

म्यानेजर बजगाईँ र इन्चार्ज अधिकारीले चार वर्षको आफ्नो कार्यकालमा पहल गरी गोर्खा ब्रुअरी मार्फत करिब ३५ लाख बराबरको वगरकोट बजारमा पोल सहित सोलर बत्ती जडान, वगरकोट बजार शृङ्गारका लागि आर्थिक सहयोग सँगै वगरकोटकोटमा आयोजित हरेक कार्यक्रममा निरन्तर सहयोग गरी वगरकोट विकासमा टेवा पुर्‍याएको मेन्याङबोले जानकारी गराए ।

उनीहरूलाई खँदा ओढाएर सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । कम्पनीले वगरकोटमा व्यवसाय मात्र नगरेर त्यस क्षेत्रको विकास तथा पर्वद्धनमा समेत सहयोग पुर्‍याएकोमा अध्यक्ष मेन्याङबोले धन्यवाद दिएका थिए । बजगाईँ डिलर इन्चार्जमा र अधिकारी प्रदेश १ इन्चार्जमा बढुवा भएर इटहरी सरुवा भएका हुन ।

कार्यक्रममा धरान होटल व्यवसायी सङ्घका अध्यक्ष सरोज भट्टराई, वगरकोट होटल व्यवसायी मञ्चका उपाध्यक्ष भक्तराज राई लगायत वगरकोट व्यावसायीहरुको उपस्थिति रहेको थियो ।