विराटनगर : प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । 

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारी अनुसार, बिहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उनकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश नं. १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको हालका स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए । बैठकमा प्रदेशको नाम प्रदेश सभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौँ’ मन्त्री यादवले भने ।

मन्त्री यादवले प्रदेश नं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिएका छन् । उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए । उनका अनुसार, बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि डाकिएको छ ।