झापा : झापाको दमक नगरपालिका ९ मा रहेको एकीकृत कृषि तथा पशुपालन फर्मका सञ्चालक दीपक खनाललाई कोभिडको दोस्रो लहर चलिरहँदा कोभिड सङ्क्रमण भयो । उनलाई मात्र हैन उनका परिवारका सबै सदस्य नै कोभिडबाट सङ्क्रमित भए । 

उनले र उनको परिवारले कोभिडसँगको लडाई त जिते तर, उनको बारीमा फलेका तरकारीको भने बेहाल भयो । बारी भरी तरकारी फले पनि घरका सबै सदस्य कोभिडबाट सङ्क्रमित भएपछि उनको बारीमा फलेका तरकारी सबै त्यसै खेर गएको उनले गुनासो पोखे । “घरमा सबै संक्रमित भएपछि कोहिपनि घरमा नआउँदो रहेछ । बारी भरी तरकारी थियो, सबै कुहिँदै गयो । देख्दै विरक्त लागेपछि सबै तरकारी नष्ट गरिदिए” खनालले सुनाए । 

खनाल त एक प्रतिनिधि किसान मात्रै हुन् । उनीजस्ता धेरै किसानले यस्तै समस्या भोग्नुपर्ने अवस्था आयो । दमककै किसान भागिरथ अधिकारी भन्छन्, “लक डाउनका बेला तरकारी बेच्न लग्दा बाटैबाट प्रहरीले फर्काईदियो  ।” पछि उनले उक्त तरकारी घरमा ल्याएर गाईबस्तुलाई खोले बनाएर खुवाउनुपर्‍यो ।   

दमक नगरपालिका ३ मा सामूहिक तरकारी खेती गर्दै आएकी पूजा भुसाल आफ्नो बारीमा फलेको तरकारी बेच्न नपाउँदा अब कहिल्यै तरकारी खेती नै नगर्नु जस्तो भएको बत्ताउँछिन् । बल्ल तल्ल कोभिडको महामारीबाट तङ्ग्रिदै  गरेको अवस्था अहिले भए पनि बजारको समस्या, बिचौलियाको बिगबिगी जस्ता कारण आफूहरू अझै पनि समस्यामै रहेको उनी सुनाउँछिन् । 

थिलथिलो परिसकेको देशको अर्थतन्त्रलाई तङ्ग्रयाउने भनेकै कृषि हो भनेर धेरैले सोचेको र सम्भावित क्षेत्र भएकोले प्राथमिकताका साथ यस क्षेत्रलाई अगाडि बढाउनु महत्त्वपूर्ण देखिने सोही स्थानकी किसान झुमा दाहाल बत्ताउँछिन् । हिजोका दिनमा भोगेका समस्या अब फेरी पनि पो भोग्नुपर्ने हो कि भन्ने त्रासमा चाहिँ अझै पनि आफूहरू रहेको उनको भनाइ छ । 

सङ्कटलाई अवसरको रूपमा लैजानको लागि कृषि क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गरेर अगाडि बढ्न सकिने सुवर्ण अवसर प्राप्त भएको किसानहरूको अनुभव पनि रहेको छ । तर, मजदुर समस्या साथै कृषि सामाग्री समयमा उपलब्ध नहुने समस्याले गर्दा कृषि उत्पादनमा अप्ठ्यारो चाहिँ सधैजसोनै परिरहेको दमक ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाका कृषि संयोजक अर्जुन निरौलाको भनाइ छ । 

दमक नगरपालिकाको कृषि शाखा भने कोरोना कहरका बेला युवा वर्गमा पनि कृषि प्रति आकर्षण बढेको दाबी गर्छन् । कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई कोभिडले युवालाई पनि कृषिमा आकर्षित गरेको बत्ताउँछिन् । कोभिडका कारण सबैले आत्मनिर्भरताको पाठ सिकेको उनको दाबी छ ।