धरान : सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरूले आज देखि काममा फर्किएका छन् । 

अदालतको अन्तरिम आदेश पछि प्रतिष्ठानमा आएर उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले पुन पदीय जिम्मेवारी अनुसार काम सुरु गरेको निर्देशक प्रा. डा. गौरीशङ्कर साहले कपुरी न्युजलाई बताए । 

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति र अस्पताल निर्देशक लाई काममा फर्किन अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।  

आज उपकुलपतिले माघ महिनाको शिक्षक तथा कर्मचारीहरूको तलब भुक्तानी स्वीकृत गरेको निर्देशक साहले बताए । सरकारले काम गर्न रोक लगाएपछि पदाधिकारी विहीन भएको प्रतिष्ठानमा कर्मचारीहरूको माघ महिनाको तलब रोकिएको थियो ।

सरकारले बहालवाला पदाधिकारीहरूको काम गर्ने अधिकार खोसेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । त्यस विरुद्ध प्रतिष्ठानका उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साहले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनको फागुन ४ गते सुनुवाइ गर्दे सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पदाधिकारीहरूको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

सत्यको सधैँ जित हुन्छ, हामी अन्यायमा परेका थियौ न्यायालयले न्याय गर्‍यो निर्देशक साहले भने– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख उठाउने गरी प्रतिष्ठानमा कार्यरत सबैले आ आफ्नो जिम्मेवारी निभाउनुपर्छ । अदालतको आदेशले हामी पदाधिकारीले मात्रै होइन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेनै न्याय पाएको निर्देशक साहले बताए । 

केही समय देखि प्रतिष्ठानको काम कारबाही रोकिएको थियो । पदाधिकारी काममा फर्किए पछि प्रतिष्ठानको प्रशासनिक काम कार्वाहीहरु सहजरुपले अगाडी बढ्ने प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले बताए ।