धरान : झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर राख्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

फरक फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका ९ जनाको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह-२ का ३८ वर्षीय सुमन कुमार कार्की (योजनाकार),  झापा कनकाई-३ का ४१ वर्षीय भीष्म थापा, दमक -९ की ५० बर्षीया देवी बास्कोटा (गुरागाईँ), कानकाई ४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी-१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिल कुमार सामेङखाम, सङ्खुवासभा खाँदवारी-१० घर भई हाल सुन्दरहरैचा-६ मोरङ बस्ने २९ वर्षीय मनमोहन दाहाल, झापा गौरिगञ्ज-३ का ३२ वर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह-५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज-३ का ४५ वर्षीय विजय कुमार दास हलुवाई रहेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा गएको माघ ९गते बम जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषद्को नामको पर्चाहरू फेला परेको थियो । त्यसै गरी दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शङ्कास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषद्को नामको पर्चाहरू माघ १३ गते फेला परेको घटना सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह रिट जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भई  घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको थियो । उक्त आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई फरक फरक मितिमा विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद् नेपाल  लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेक बुक २ थान, केन्द्रीय कमिटी, कोशी अञ्चल, मेची अञ्चल कमिटीको हस्ताक्षर मात्र भएको छापहरू १० थान, विभिन्न कम्पनीका ७ थान मोबाइल फोन समेत बरामद भएको छ ।  

पक्राउ परेका ९ जनाको समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।