धरान :  विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।

एक सय चार वर्षीय जहानियाँ राणा शासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण फैल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरण पछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरेको थियो ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।