धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नगरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मेयर राईले शुभकामना व्यक्त गरेका हुन् । मेयर राईले प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीर शहीदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति श्रद्धा सुमन पनि व्यक्त गरेका छन् ।

‘नेपाली जनताको लामो सङ्घर्षको परिणाम स्वरूप वि. सं. २००७ फागुन ७ मा निरङ्कुश जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ७१ औँ वर्ष पुरा भएको छ । ७२ औँ प्रजातन्त्र दिवस २०७८ को यस अवसरमा सम्पूर्ण नगरवासी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्न पाउँदा म अत्यन्तै हर्षित छु’ शुभकामना सन्देशमा भनिएको छ । 

मेयर राईले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्दै प्रजातन्त्रको जगमा लोकतान्त्रिक पद्धतिलाई अझै सक्षम र सुदृढ गर्दै लैजाने सम्पूर्ण नेपालीको चाहना र आकाङ्क्षा हासिल गर्न यस दिवसले थप प्रेरणा समेत प्रदान गर्ने बताएका छन् । 

Subhakamana 1