धरान : प्रदेश १ को विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका-३ स्थित फिकल–पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१ का २३ वर्षीय सौगात राई रहेका छन् । शुक्रवार बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ बर्षीया सम्झना राई घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारको लागि बिर्तामोड स्थित विएण्डसी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई  थप अनुसन्धान भइरहेको छ ।

यसै गरी सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । 

हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोक मार्गमा को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर–१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा  विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

मोरङको जहदा गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा सडक साइडमा राखेको गोरु गाडामा को ३५ प ३४०५ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर–१९ का २६ वर्षीय लक्ष्मी सरदार गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी ओखलढुङ्गाको मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकी छिन् । हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जङ्गलबाट घाँस काटी घर तर्फ फर्कँदै गर्दा भिरबाट लडी घाइते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा लगिएकोमा उनको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।