धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै जनताको बलिदानी पूर्ण सङ्घर्ष मार्फत जहानियाँ निरङ्कुश राणा शासनको अन्त्य भई लोकतन्त्रको प्रक्रियामा अघि बढेको आज ‘फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस’को ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनअधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु भनेका छन् ।

सन्देशमा मुख्यमन्त्री राईले उल्लेख गरेका छन् –यस अवसरमा जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । 

मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्त्व पनि छ ।

आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ मार्ग खुलेको दिनको रूपमा पनि स्मरण गरिन्छ सन्देशमा भनिएका छ । बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले यसको खास महत्त्व रहेको छ । 

यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरूप बदलिएर नेपाल अहिले सङ्घीय गणतन्त्र नेपाल भएको छ । नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई सङ्घर्षमा समाहित गरेका छन् । राणा शासन सुरु हुनु अघिदेखि राणा शासन विरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलनहरूमा हजारौँ नेपाली जनताले ज्यान गुमाएका छन् । सहादत प्राप्त गरेका छन् ।

ती महान् सहिदहरूको त्याग र बलिदानको परिणामस्वरूप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, सङ्घीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको मुख्यमन्त्री राईले सन्देशमा भनेका छन् । 

आजको महत्वपूर्ण घडीमा प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एव समावेशी गराउन र सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

मन, वचन, कर्मले इमानदारिताका साथ लागी परौँ भन्ने आह्वान गर्दै मुख्यमन्त्री राईले सन्देशमा भनेका छन् –राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा फेरि पनि प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा शुभकामना व्यक्त गर्दै सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दछु ।