धरान : ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज झुम्का कारागारबाट ३७ जना कैदी बन्दीले आममाफी पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । सोही अनुसार झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा-२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदी वन्दीले आम माफी पाएका छन् । त्यस मध्येबाट झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएर जेल मुक्त भएको झुम्का कारागारका प्रमुख प्रदीप शाहले बताए । 

अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।