विराटनगर : १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा शनिवार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । 

विभिन्न वक्तव्य र भाषणमा सीमित हुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले श्रमदान गरी मनाएका हुन् । विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उनले श्रमदान गरेका हुन् ।

जनताका आधारभूत आवश्यक्ता गाँस, बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उनले बताए । उनले भने ‘आजको दिनलाई हामीले भाषण गर्ने दिनका रूपमा लिएका छौँ । उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानवअधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ ।’ 

सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै जनताका हरेक काम गर्ने उनको भनाई छ । सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माणाधीन अवस्थामा रहेका छन् । विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि रोजिहिरा फाउन्डेसन र हामी युवाले श्यंमसेवक व्यवस्थापन गरिरहेका छन् । यो अभियानमा काम गर्न स्काउट लगायतका विभिन्न संघसस्थाबाट समेत स्वयंसेवक परिचालन भएका छन् । 

वस्तिमा रोजीहिरा फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, हामी युवाकी अध्यक्ष जीना जङ्ग कार्की लगायत टिमले श्रमदान गरेका छन् । वस्तिमा जतिसक्दो छिटो काम सम्पन्न गरेर नागरिकलाई हस्तान्तरण गरिने ह्याविट्याट नेपालका सिनियर अप्रेसन म्यानेजर रामप्रसाद सिंह दनुवारले बताए । 

मानव सेवा आश्रममा फलफूल वितरण :

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ । 

आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण गरेको हो ।

वितरण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकारले बेसहारा मानवको सेवा गर्नु धर्म गर्नु सोसरह रहेको उल्लेख गर्दै सरकार बेसहारा नागरिकको जीवन रक्षा गर्न लागि परेको बताए ।

Falful-Bitaran