धरान : इटहरीका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्ने भएको छ ।

केही दिन भित्रैबाट सबै वडाका बासिन्दाले आफ्नो घर आगनवाटै आधारभूत स्वास्थ्य सेवा पाउने भएका हुन । यसअघि सरकारी संस्था नभएका वडाहरूमा वडा स्तरीय आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् । आधारभूत स्वास्थ्य इकाइका लागि आवश्यक जनशक्ति र फर्निचर लगायत व्यवस्थापन गरिसकिएको उपमहानगरपालिकाले जनाएको छ । 

यसैबिच वडा नम्बर ४ मा निर्मित आधारभूत स्वास्थ्य इकाई भवनको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उद्घाटन गरेका छन् । वडा नम्बर ४ का ८५ वर्षीय ज्येष्ठ नागरिक कटक बहादुर बुढाथोकीको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य सेवा सुरु गरिएको छ ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले इटहरीको सबै वडाका बासिन्दाले आफ्नै घर आँगनबाट आधारभूत स्वास्थ्य सेवा लिन पाउने अवस्था सृजना गरिएको बताए । उनले केही दिन भित्रैमा सबै स्वास्थ्य इकाई भवनको उद्घाटन गरेर सेवा प्रारम्भ हुने जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीले प्रत्येक स्वास्थ्य इकाईमा एक जना हेल्थ असिस्टेन्ट, एक जना नर्स र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरिएको जानकारी दिए । इटहरी खानेपानी संस्थाका अध्यक्ष राम प्रसाद चौलागाँईले इटहरी उपमहानगरपालिकाले विकास निर्माणमा जन पक्षीय र लोकप्रिय कार्य गरेको बताए ।

वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले वडावासीलाई आफ्नै घर आँगनमा निर्मित स्वास्थ्य इकाइवाट आधारभूत स्वास्थ्य सेवा लिनका लागि वडावासीलाई आव्हान गरे । वडा सदस्य डिवि राईले जनताको घरदैलोमै स्वास्थ्य सेवा आएकोमा खुसी प्रकट गरे ।

स्वास्थ्यकर्मी हरि गौतमले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने स्वास्थ्य सेवाका बारेमा जानकारी गराए । यसअघिकै वडा नम्बर २ मा आधारभूत स्वास्थ्य इकाइको उद्घाटन भइसकेको छ ।