धरान : होलिल्याण्ड स्कुल द्वारा आयोजित महिला पुरुष अन्तर विद्यालय होलिल्याण्ड थ्री बाईँ थ्रीको उपाधि आयोजक होलिल्याण्ड ए र चिल्ड्रेन एकेडेमीले जितेका छन् । 

आज भएको फाइनल खेलमा महिला तर्फ होलिल्याण्डले लोटस स्कुललाई र पुरुष तर्फ चिल्ड्रेनले डिपोलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

प्रतियोगिताको विजेताले नगद पाँच हजार रुपैयाँ, एक हजार रुपैयाँ बराबरको कफी पब रेष्टोको फुड भौचर, उपविजेताले नगद २ हजार ५ सय, कफी पब रेष्टोका ५ सय रुपैयाँ बराबरको फुड भौचर, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, होलिल्याण्ड स्कुलका प्रिन्सिपल राजकुमार लिम्बु, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खेलमा महिला तर्फ होलिल्याण्डले लोटसलाई ७–० र  पुरुष तर्फ चिल्ड्रेन स्कुलले डिपोलाई १०–९ अङ्कको अन्तरले पराजित गरेको थियो । महिला तर्फको फाइनल खेलको म्यान अफ द म्याच होलिल्याण्ड ए का नुमा लिम्बु र पुरुष तर्फ डिपो स्कुलका विपुल लिम्बु घोषित भए । उनीहरूले ट्रफि, प्रमाणपत्र र डिमाण्डु ज्वाइँ खानाको पाँच सय रुपैयाँ बराबरको फुड कुपन प्राप्त गरे ।

त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ होलिल्याण्ड स्कुलकै  इक्सा लावती र पुरुष तर्फ चिल्ड्रेन स्कुलका पारुहाङ चेम्जोङ घोषित भए । उनीहरूलाई जनही नगद एक हजार रुपैयाँ, ५ सय रुपैयाँ बराबरको डिमाण्डु ज्वाइखाना फुड भौचर, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, नेपाल महिला बास्केटबल राष्ट्रिय खेलाडी डा. आशा राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सम्पूर्ण खेल आयोजक होलिल्याण्ड स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।