धरान : मोरङको केराबारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । 

उक्त घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे सँगै सो कुरा खुल्न आएको हो । 

माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्मरुपमा गहन अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा भट्टराई पुस २७ गते देखी नै बेपत्ता भएको र पुस २८ गते लिम्बुसँग वादविवाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ । 

यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खुल्न आए सँगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।