विराटनगर : शिक्षक सेवा आयोगको परीक्षा आगामी चैत भित्रमा सम्पन्न हुने भएको छ । आयोगको परीक्षा चैत १५ गतेदेखि सुरु भएर चैत २१ गते सकिने गरी परीक्षाको तयारी सुरु भएको छ ।

आयोगले माध्यमिक तहको चैत १५ गते, निमावि तहको चैत १७ गते, प्राथमिक तहको चैत १९ गते र बढुवाका लागि चैत २१ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक भएको छ । प्रदेश १ मा मावि र निमावि तहको परीक्षाको व्यवस्थापन शिक्षा विकास निर्देशनालय धनकुटा र मोरङ लगायतका केही जिल्लाको प्रावि तहको परीक्षा शिक्षा विकास तथा समन्वय इकाईहरूले गर्ने  शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक राजेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

उनका अनुसार मावि र निमावि तहको परीक्षा प्रदेश राजधानी रहेको जिल्ला मोरङमा सञ्चालन हुने छ । निर्देशक बुढाथोकीका अनुसार मोरङका विराटनगर, बुढीगंगा, सुन्दरहरैचा र बेलबारीमा परीक्षा केन्द्र कायम हुनेछन् । केन्द्र कायम गर्नका लागि परीक्षा समन्वय समितिलाई सिफारिस पठाइएको उनले बताए ।

प्रदेश १ बाट निमावि तहमा २० हजार ९२१ र मावि तहमा ८ हजार ८३२ परीक्षार्थीले परीक्षा दिने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार माविका ३८ र निमाविका लागि ८६ परीक्षा केन्द्र हुनेछन् ।