धरान : धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । 

सोमबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको नगर खेलकुद समितिको बैठकले सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गते शनिवार देखि चैत्र १३ गतेसम्म धरान १६ स्थित रङ्गशालामा गर्ने निर्णय भएको हो । २२ औँ संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने बाडाहरूले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । 

उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानका वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पुरस्कारको बारेमा भने खेलकुद समितिको पुनः अर्को बैठक बसेर घोषणा गरिने जनाइएको छ । यस्तै, बैठकले कोरोना महामारीका कारण गत वर्षदेखि स्थगित भएको ग्रास रुट फुटबल प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

उपमहानगरपालिकाका फुटबल प्रशिक्षक राईले यही फागुन १४ गतेदेखि प्रत्येक शनिवार ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरूलाई ग्रास रुट फुटबल प्रशिक्षण गराइने जानकारी दिए । उनका अनुसार धरान १६ स्थित रङ्गशालामा प्रत्येक शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म फुटबल प्रशिक्षण गराइनेछ । 

यसै गरी, धरानमा नगरपालिका कर्मचारी (महिला÷पुरुष) ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । आज बसेको बैठकले यही फागुन २४ र २५ गते दुई दिन सम्म ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने निर्णय गरेको हो ।

यस्तै, धरान उपमहानगरपालिकाले यही फागुन २५ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी खेल हुनेछन् ।