धरान : छ लेनको सडक विस्तार गर्दा असुरक्षित बनेको धरान तीनकुने स्थित सिरिङगाको शालिकलाई संरक्षण गर्ने पहल धरान उपमहानगरपालिकाले गर्ने भएको छ । जोगबनी-किमाथाङका राजमार्ग सडक निर्माण कार्य पानीपिया-तीनकुने खण्ड तीनकुने सम्म आइपुग्दा शालिक असुरक्षित बनेको थियो ।

यसअघि सरोकारवालाहरूले सडक निर्माण गर्दा उक्त शलिक सुरक्षित राखिनुपर्ने माग गर्दै  उपमहानगरपालिका र सडक आयोजनालाई ज्ञापन पत्र बुझाएको थियो । सोमवार मेयर तिलक राईले सरोकारवालाहरू सँग छलफल गर्दै उक्त शालिकलाई सोही स्थलमा सुरक्षित राख्न उपमहानगरपालिकाले पहल गर्ने बचन दिएका छन् ।

उनले भने ‘शालिकलाई सुरक्षित राख्न सडक आयोजनासँग उपमहानगरपालिकाले पहल गर्नेछ ।’ उक्त स्थल पूर्व-पश्चिम मदन भण्डारी राजमार्ग र धरान–इटहरी सडकको चौरस्ता बिचमा पर्दछ । शलिकलाई सुरक्षित राख्न पश्चिम तिरको पेटीलाई काटेर गोलाकार बनाउने र प्राविधिक रूपमा आवश्यक परे सोही ठाउँमा तलमाथि सार्न कुरामा सरोकारवालाहरू सहमत भएका छन् ।

मेयर राईले धरानको पहिचान बनेको सार्वजनिक भौतिक सम्पत्ति, धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलहरूको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको बताउँदै सडक विस्तारमा नगरवासीको कमभन्दा कम क्षति होस भन्ने कुरामा उपमहानगरपालिका गम्भीर रहेको बताए । उनले यस बारेमा सडक आयोजना सँग हामीले पहल भइरहेको बताए ।

शालिकका बारेमा सरोकारवालाहरूले उपमहानगरपालिकाको ध्यानाकर्षण गराए लगत्तै सडक आयोजना सँग छलफल भएको मेयर राईले जानकारी दिए । सडक विस्तारको क्रममा शलिक हटाउन नहुने माग गर्दै लिम्बु विद्यार्थी मञ्चले सडक आयोजनालाई ज्ञापन पत्र बुझाएको थियो । लगत्तै किरात याक्थुङ चुम्लुङले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । शलिक चुम्लुङले धरान नगरवासीहरूबाट आर्थिक सहयोग सङ्कलन गरी निर्माण गरेको हो ।

सिरिजङगा किरात सिरिजङगा लिपिका आविष्कारक हुन् । उक्त लिपि नेपालका आदिवासी लिम्बु, राई, याक्खा, सुनुवार सहित आठ भन्दा बढी जनजातिहरूको मातृभाषा लेखनमा प्रयोग हुने गरी पछिल्लो समय विकास गरिएको छ । सिरिजङगा लिपिमा लेखिएका ऐतिहासिक दस्ताबेजकै आधारमा नेपालको पूर्वी भाग तथा लिम्बुवान, किरातकालीन इतिहासहरू लेखिएका छन् । उनैको स्मृतिमा उक्त शालिक निर्माण गरिएको हो ।

मेयर राईसँग भएको छलफलमा शालिकका सरोकारवालाहरू चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपमहासचिव सरगम सागर चेम्जोङ, चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, चन्द्रमाया लिम्बु, जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, उपाध्यक्ष स्वर्णिमाहाङ फोम्बो, नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय सम्बाहाङफे र उपमहानगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा थिए ।

shree-junga-grreement