धरान : मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोकमा सञ्चालित नेती फर्मा र  डेड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अवैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरे सँगै उक्त औषधी खरिद गरी लागुऔषधको रूपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।
उक्त दुई वटा मेडिकलबाट चिकित्सकको अनुमति बिना अवैध रूपमा महँगो मूल्यमा  लागुऔषध दुर्व्यसनीमा लागेका व्यक्तिहरूलाई औषधी अनधिकृत रूपमा बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटि समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका १० का ४५ वर्षीय सुशील काफ्ले र निजको श्रीमती ३२ वर्षीय गोमा कार्की तथा  सेवनकर्ताहरू सुन्दरहरैचा १ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा १० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैचा ९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेष परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् । उक्त दुई वटा मेडिकलबाट प्रहरीले ठुलो मात्रमा अवैध औषधी बरामद गरेको छ ।
अनाधीकृत रूपमा दुर्व्यसनीमा लागेका व्यक्तिहरूलाई औषधी बिक्री वितरण गर्ने दुवै मेडिकल सञ्चालकलाई ठुलो परिणामको औषधीहरू सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।