धरान :  सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौँ प्रस्थान गरेको छ । 

टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बिदाइ गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिँदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरेका छन् । उनले विगतका वर्षहरूदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यस वर्ष धरानको गौरव बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे ।

टिमका प्रशिक्षक सागर घिमिरेले यस वर्ष गत वर्ष भन्दा राम्रो तयारी गरेको बताए । उनले ए डिभिजनमा उक्लिने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए । क्याप्टेन बिटु तामाङले पनि सबैको साथ सहयोगले हौसला बढेको बताउँदै जिम्मेवारी बढेको प्रतिक्रिया दिए  ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत गर्ने भएको छ । गत वर्ष ब्वाइज युनियन क्लबले चौथो स्थानमा लिग सम्पन्न गरेको थियो । १२ टिम सम्मिलित प्रतियोगिताको कुल ११ खेलमा ७ जित १ बराबरी र ३ हार गरी चौथो स्थानमा रहेर लिग सकेको थियो । गत वर्ष ब्वाइज युनियनले फेयर प्ले टिमको उपाधि जितेको थियो । 

बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ । जसमा ब्वाइज युनियन क्लब, झम्सिखेल यूथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगन्ज युनाइटेड क्लब, नयाँ बस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् ।

त्यसै गरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर यूथ एसोसिएसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।