धरान : सुनसरी र झापामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सह नि रहेका छन् ।

हिजो बेलुकी पौने ५ बजे  प्रदेश २–०३–००१ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका साइकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ वर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी झापाको मेचीनगर नगरपालिका–७ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

गए राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर–८ का १९ वर्षीय श्याम मगर र १७ वर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका दुवै जनाको  विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा  उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।