झापा : विश्व साइकल यात्री पुष्कर शाह झापामा सम्मानित भएका छन् । आइतमाया थेबे स्मृति प्रतिष्ठान मेचीनगर १३ चारआलीले विश्व साइकल यात्री पुष्कर शाहलाई एक कार्यक्रमका बिच बुधवार सम्मान गरेको हो ।

झापा चारआलीका थेबे परिवारबाट आफ्नी दिवङ्गत माताको स्मृतिमा स्थापित प्रतिष्ठानले ११ औँ वार्षिक उत्सवको अवसर पारेर विश्व साइकल यात्री शाहलाई सम्मान गरेको हो ।

शाहलाई नगद ११ हजार १ सय ११ सहित सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथि कञ्चनजङ्घा एफ.एम.का प्रबन्ध निर्देशक चन्द्र भण्डारीले सम्मान गरेका थिए । सोही कार्यक्रममा ज्येष्ठ माता सम्मानबाट राजकुमारी लामालाई समेत सम्मान गरिएको थियो ।

प्रतिष्ठानले हरेक वर्ष फागुन ११ गते माता आइतमायाको जन्म जयन्तीको अवसर पारेर विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसैबिच चारआली जेसिजले समेत सोही कार्यक्रमका बिच विश्व साइकल यात्री शाहलाई सम्मान पत्रबाट सम्मान गरेको छ ।