विराटनगर : प्रदेश १ का ३ जिल्लामा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य सम्बन्धी दोस्रो चरणको परियोजना सुरु भएको छ । 

युनएफएपीए, भिएसओ नेपाल र आईपाससँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च विराटनगरले परियोजना सुरु गरेको हो ।

दोस्रो चरणको परियोजना मोरङको विराटनगर, उदयपुरको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका र ओखलढुङ्गाको सिद्धिचरण, मानेभन्ज्याङ, मोलुङ र चिशंखुगढीमा सुरु भएको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले बताइन्  । उनका अनुसार ३ जिल्लाका ९ वटा स्थानीय तहका ४१ वटा वडामा परियोजना सुरुवात गरिएको  छ । 

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य सम्बन्धी परियोजना अन्तर्गत ९ वटा स्थानीय तहका किशोर–किशोरीका लागि विराटनगरमा १२ दिने रूपान्तरण सम्बन्धी तालिम दिइएको अध्यक्ष उपाध्यायले बताइन् । माघ २९ गतेदेखि सुरु भएको रूपान्तरण तालिम बुधवार सकिएको छ । तालिममा २२ जना किशोर –किशोरी सहभागी भएका थिए । 

रूपान्तरण तालिम समापन कार्यक्रममा अध्यक्ष उपाध्यायले कोकनले परिवर्तनको संवाहकका रूपमा काम गरिरहेको बताइन् । उनले तालिमको प्रभावकारिताका लागि परियोजना सञ्चालित स्थानमा नियमित अनुगमन गरिने बताइन् । कोकनका सल्लाहकार कोषराज न्यौपानेले विद्यालयलाई लक्षित गरेर लैगिक हिंसा निवारणका लागि परियोजना सञ्चालन गरिएको बताइन् । 

भिएसओका सुनिल साहले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हिंसा रोकथाम र प्रतिकार्य सम्बन्धी दोस्रो चरणको परियोजना सुरु गरिएको बताए ।  २०२४ अगस्ट सम्म चल्ने परियोजना गत अगस्ट देखि सुरु गरिएको साहले बताए । उनले अभियान अन्तर्गत लैङ्गिक विभेदमा आधारित हिंसा रोकथामका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिने बताए । तालिममा सहभागी उदयपुरकी रेनुका राईले लैङ्गिक हिंसा रोकथामका लागि सहज जानकारी प्राप्त भएको र समाज, गाउँघरमा यसलाई अभियानको रूपमा सञ्चालन गर्ने बताए ।