धरान : झापा र मोरङमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

अर्जुनधारा नगरपालिका ९ कार्कीडाडा स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र. १ –०१–०१२ प ५९९८  नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइते दाहालको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गए राती सँवा १२ बजे मृत्यु भएको हो । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसै गरी मोरङको जहदा गाउँपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबी बेहोस अवस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाइते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।