धरान : सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोसी राजमार्ग अन्तरगत शनिवार बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ । 

धरान उपमहानगरपालिकाको आयोजनामा फागुन १४ गते शनिवार धरान १३ स्थित बेसक्याम्प देखि भेडेटारसम्म बृहत् सरसफाइ कार्यक्रम गरिने भएको हो । बिहीबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको धरानका सामाजिक तथा जातीय संघसस्थाका प्रतिनिधिहरूसँग गरेको छलफलले शनिवार बिहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाइ कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।

भेडेटार पुगेर खानपिन सहितको कोणसभा गरेर फर्कने कार्यक्रम तय भएको छ । उपमहानगरपालिकाका वातावरण शाखाका अनुसार कोसी राजमार्ग अन्तरगत सडकमा दायाँबायाँ फालिएका सिसाजन्य तथा प्लास्टिकजन्य फोहोरहरू सङ्कलन  गरी उठाइनेछ । नगर प्रमुख राईले ‘पानीको मुहानलाई सधैँ सफा राखौँ, प्राकृतिक सम्पदाको सम्बद्र्धन गरौँ, जथाभाबी फोहोर नफालौँ र सफा रहौँ, स्वास्थ्य जीवन निर्वाह गरौँ’ भन्ने सन्देशका साथ बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

कोसी राजमार्ग अन्तरगत सर्दु जलाधार क्षेत्रमा दिशा, पिसाब र फोहोर नगर्न पनि सचेत गराइने उनले बताए । नगर प्रमुख राईले छलफलमा धरान १३ स्थित बेसक्याम्पमा शौचालय सहितको रिफ्रेसमेन्ट सेन्टर बनाउन पहल गरिने जानकारी दिए । साथै, उनले धरानदेखि उत्तरी भेगमा चल्ने बसहरूमा टाईमकार्ड लागू गराउन पनि उपमहानगरपालिकाले पहल गर्ने बताए । 

सरसफाइ कार्यक्रममा दुई सयभन्दा बढीको जनसहभागिता रहने अनुमान गरिएको छ ।