झापा : झापाको पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका-१० स्थित दोमुखामा आगलागी भएको छ । 

गए राति भएको आगलागीमा परि दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार गए राती ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भवनमा बिजुली चुहावट भई आगलागी भएको थियो ।  भवनमा आगलागी हुँदा स्थानीय हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरले सञ्चालन गरेको होटेलहरू जलेर नष्ट भएको छ ।

आगालागिमा परि स्थानीय ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ ।  

आगलागीका कारण सोही भवनमा रहेको दोमुखा युवा क्लबको कार्यालय समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी दमक, कमल र बिर्तामोडको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साढे १ बजे नियन्त्रणमा लिएको बताइएको छ । यता आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।