धरान : सुनसरी, इलाम र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । 

१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ स्थित खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोक्राहा नरसिङ–७ का शङ्कर मेहेताको १५ महिनाको छोरा  रोहित मेहेता रहेका छन् । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुबी मृत अवस्थामा उनको आमाले फेला पारेकी थिइन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लडी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ–२ बरफल्याङ का २७ वर्षीय सुवास नेपाल रहेका छन् । हिजो बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाइते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० वर्षीय अर्जुन थवाली मगर रहेका छन् । आज बिहानको राती २ बजेको समयमा लिखुपिके–५ स्थितबाट  एम डी दुगढ हाइड्रो पावर तर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको मिक्स्चर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।