धरान : जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । 

चौकीहरूको हाता भित्र आज भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित प्रहरी चौकी टुटे देउराली सङ्खुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनहरूको बिधिवत रूपमा उद्घाटन गरेका हुन् ।

नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट विनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

भवनको उद्घाटन तथा निरीक्षण पश्चात् कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीहरूमा काम गर्ने थप हौसला मिल्ने बताए ।

वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानुनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख अतिथि  प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरिएको थियो ।