इटहरी : इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्बर १८,१९ र २० मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका छन् । इटहरीका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् ।

नगर प्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सबै वडाहरूमा अस्पताल पूर्याउने प्रतिबद्धता पूरा गरेको बताए । उनले अव आधारभूत सेवा लिन गाउँका बासिन्दाले सहर जानु नपर्ने बताए । उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाई भवनबाट स्वास्थ्य सेवा सञ्चालन गर्न जनशक्ति र आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको जानकारी दिए ।

आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाउँ गाउँका बासिन्दा  उत्साहित वनेको उनको भनाई छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले इटहरीका वडाहरूमा जग्गा व्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको बताए ।

उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका बारेमा जानकारी दिए । उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका बारेमा जानकारी दिए । वडा नम्बर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणिराम  श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएका हुन् ।