सङ्खुवासभा : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ’ख’ को उद्घाटन गरेका छन् ।

आइतबार नव निर्मित  कार्यालय भवन, ब्यारेक तथा शौचालयको मन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।

कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए । नागरिक सभ्य भएमा प्रहरी सफल हुने र सभ्य समाजको निर्माण हुने उनको भनाइ थियो ।

कार्यालय त कानुनी प्रक्रिया पुरा गर्ने स्थल हो तर तपाई हामी आफै सभ्य बनौँ न समाज सभ्य बन्छ, उनले भने, प्रहरी विपद्का वेला नागरिकसँगै रहन्छ ।

प्रहरी संरचना केन्द्रकै मातहतमा रहे पनि प्रदेश सरकार प्रहरी संरचना बलियो बनाउन लागिपरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सान्ती सुरक्षा र सुशासनमा प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए । प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुण कुमार बिसीले प्रहरीबाट लिन सक्ने सेवाको अभिवृद्धि हुनेमा विश्वस्त रहेको बताए ।

सो भवन प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड ९४ लाख ९४ हजार ६ सय ९९ रुपैयाँ ३० पैसामा निर्माण भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रमुख जिल्ल अधिकारी नूरहरी खतिवडा, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि साथै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।