धरान : दोस्रो अशोक स्मृति बास्केटबल प्रतियोगिताको उपाधि हाम्रो कलेक्सन टिमले जितेको छ ।

आइतबार अबेर भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदर्स टिमलाई ५७ – ४७ अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि सँगै नगद पचपन्न हजार ५ सय ५५ रुपैयाँ , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसै गरी उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदर्सका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडी हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अङ्क जोडेका थिए । डिमाण्डु म्यान अफ द म्याच सर्वोधनले नगद  तिन हजार, ट्रफि, कफी पब एण्ड रेष्टोका ५ सय रुपैयाँ बराबरको फुड भौचर र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै गरी उत्कृष्ट खेलाडी हेमन्तले नगद ४ हजार , बास्केटबल जुत्ता, कफी पब एण्ड रेष्टोका ५ सय रुपैयाँ बराबरको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष सोनु मण्डल, प्रमुख अतिथि वाड नं १८ का वडाध्यक्ष प्रवीण राई, विशेष अतिथि दिवङ्गत अशोक वास्फोरका श्रीमती इन्द्रावती वास्फोर, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा हाम्रो कलेक्सन र व्रदर्सले प्रत्येक क्वाटरमा क्रमशः ३–१४, २१–१३, १०–८ र २३–१२ अङ्क जोडेका थिए । होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइएको सेमिफाइनलमा व्रदर्सले यलम्वरलाई र हाम्रो कलेक्सनले तरहरालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

त्यस्तै गरी सोही दिन बिहान सम्पन्न भएको टु पोइन्ट ओ थ्री पोइन्ट कम्पिटिशनको उपाधि यलम्वर क्लबका दिवस राईले जितेका छन् । उनिले एक मिनटमा ७ वटा थ्री पोइन्ट बास्केट गर्दै उपाधि जितेका हुन । उनले नगद तिन हजार रुपैयाँ, ट्रफि, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।

फागुन ८ देखि १४ गते सम्म सम्पन्न प्रतियोगितामा धरान , तरहरा, झापा र बेलबारीका गरी दश टिमले सहभागिता जनाएको थियो । सहभागी टिमहरूमा आयोजक डायनामिक यूथ क्लब, व्रदर्स, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, बेलबारी , तरहरा र झापा रहेको थियो ।

लिगकम नकआउटको आधारमा सम्पन्न भएको प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको थियो ।