धरान : धनकुटा र विराटनगरमा गए राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्री सडक खण्डमा गए राती पौने ८ बजे ट्र्याक्टर पल्टँदा एक जनाको मृत्यु भएको छ । 

को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साइडमा पल्टँदा ट्याक्टरमा सवार रहेका पाख्रीवास–६ का ५२ वर्षीय बम बहादुर राई गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसै गरी राती साढे ११ बजे विराटनगर महानगरपालिका–३ दुर्गा चोक स्थित भित्री सडक खण्डमा को. १४ प ९४५८ नम्बरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घाइते भएका स्कुटी चालक सप्तरी घर भई विराटनगर–३ मा बस्दै आएका ३६ वर्षीय हरि भुजेलको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।  सवारी दुर्घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।