धरान : जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरमा भएको एक कार्यक्रममा बिच बस्ती, टोल र घर घरमा प्रहरीको पहुँच अभिवृद्धि गरी नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि आपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला समन्वय समिति खाँदवारिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी र १ नं. प्रदेश प्रहरी श्रीमती सङ्घकी अध्यक्ष चारु कोइराला बि.सी. लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयहरूको सहभागी रहेको थियो ।