धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपालमै पहिलो पटक मुत्रनली शल्यक्रिया सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । 

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सर्जरी विभाग, यूरोलोजी डिभिजन, धरानको आयोजनामा प्रतिष्ठानमा फाल्गुण १४ र १५ गते प्रथम २ दिने प्रत्यक्ष मूत्रनली शल्यक्रिया सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । 

यस प्रकारको कार्यशाला नेपालमा नै पहिलो पटक सम्पन्न भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् । उक्त कार्यशाला एससी आई हस्पिटल नयाँ दिल्ली, भारतमा कार्यरत प्रख्यात कन्सल्टेन्ट यूरोलोजिष्ट तथा मूत्रनली विशेषज्ञ (Consultant urologist, andrologist, urethra and penile reconstructive surgeon) डा. गौतम बाङ्गाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन सर्जरी विभागका प्रमुख प्रा.डा. राकेश गुप्ताले गरेका थिए ।

उद्घाटनको क्रममा डा. गुप्ताले मूत्रनलीको समस्या र शल्यक्रिया (Urethroplasty) दुवै अत्यन्त जटिल हुने र यस्तो किसिमको शल्यक्रिया हरेक अस्पतालमा नहुने जानकारी गराए । साधारण खालको मुत्रनलीको समस्याका शल्यक्रियाहरू प्रतिष्ठानमा हुँदै आएको भएता पनि केही जटिल समस्याको लागि अन्यत्र रेफर गर्दा पनि बिरामीहरू प्रतिष्ठानमै फर्केर आउने गरेकाले यस प्रकारको जटिल मूत्रनली सम्बन्धी समस्याहरूको कार्यशालाको आयोजना गरिएको कार्यशालाका  आयोजक समितिका अध्यक्ष (Organizing chairman) तथा यूरोलोजी डिभिजनका सह प्राध्यापक डा. रिकेश जङ्ग कार्कीले जानकारी गराए ।

दुई दिने कार्यशालामा मूत्रनलीका जटिल समस्या भएका दिर्घरोगीहरु ६ जनाले सेवा पाएका थिए । जसमध्ये दुई वर्ष देखि पेटमा प्वाल पारि पाइपबाट पिसाब फेर्दै आएका सप्तरीका ३६ वर्षीय पुरुषको पनि सफल शल्यक्रिया भएको छ । अब केही दिनपछि पेटमा राखिएको पाइपबाट पिसाब फेर्न नपर्नेमा उनी निकै हर्षित छन् । उनी जस्तै सडक दुर्घटनामा परि मुत्रनलीमा जटिल चोट लागेका र नली छिनिएका विरामीहरुको अब प्रतिष्ठानमा नै उपचार सम्भव हुने डा. रिकेश जङ्ग कार्कीले जानकारी दिए ।

कार्यशाला अवधिमा शल्यक्रियाहरू प्रतिष्ठानको मोडुलर अप्रेसन थिएटरमा भएको थियो भने त्यसको प्रत्यक्ष प्रसारण प्रतिष्ठानको अडिटोरियम हलमा भइरहेको थियो । अडिटोरियम हलबाट सहभागीहरूले अप्रेसन थिएटरमा प्रत्यक्ष कुराकानी तथा प्रश्नोत्तर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो ।

साथै त्यसको प्रत्यक्ष प्रसारण इन्टरनेट मार्फत संसारभरि गरिएको कार्यक्रमका आयोजक समितिका सदस्य डा. शैलेश महर्जनले जानकारी दिए । अडिटोरियम हलबाट सहभागीहरू तथा अप्रेसन थिएटरमा शल्यचिकित्सकहरु बिच सम्पर्क गराउन मध्यस्थकर्ताका रूपमा नोबेल मेडिकल कलेज, विराटनगरबाट सह प्राध्यापक डा. साम सागर शाह, विराट मेडिकल कलेज, विराटनगरवाट सह प्राध्यापक डा. दिपक ठाकुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सह प्राध्यापक डा. प्रकाश क्षेत्री र वीर अस्पताल, काठमाडौँबाट सह प्राध्यापक डा.चितरञ्जन शाहको उपस्थिति थियो । त्यस्तै अप्रेसन थिएटरमा डा. गौतम जङ्ग र डा. रिकेश जङ्ग कार्कीका साथमा डा. आवाज काफ्ले, डा.समीर चौधरी, डा. शैलेश महर्जन तथा डा. योगेश मण्डलको उपस्थितिमा शल्यक्रिया सम्पन्न भएको थियो । 

Mutranali-1