धरान : इटहरीचौकमा ट्राफिक चाप बढिरहेको वेला राजमार्गबाट बाइपास गर्न मिल्ने तीन वटा पुल निर्माण भएका छन् । 

ती मध्ये दुई वटा पुलको पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोला पुल र वडा नम्बर ४ स्थित टेंग्राखोला पुल उद्घाटन गरेका हुन् ।  वडा नम्बर ४ स्थित टेंग्राखोला पुलबाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोला पुल हुँदै पश्चिम जान बाइपास हुन सक्ने पुल हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गरे । उनले विकास सबै दलको एजेन्डा भएकाले विकासमा राजनीति गर्न नहुने बताए । निर्वाचनका वेला प्रतिस्पर्धा भए पनि निर्माणका वेला एकता हुनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको दाबी गरे ।

उनले ४२ किलोमिटर बाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले व्यापक पहल गरेको बताउँदै बाहिरी चक्रपथ चाडै आरम्भ गर्न सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्व मुख्यमन्त्री आर्चायलाई आग्रह गरे । उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुल कल्भर्ट बनाइसकेको जानकारी दिइन् । केही ठुला पुलहरू निर्माण भइरहेको बताइन् ।

आफूहरूको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णिम काल बनाउन लागि परेको उनको भनाई छ । बुद्धिजीवी लेखनाथ घिमिरेले विकास भौतिक निर्माण सँग सँगै त्यसप्रतिको अपनत्व र प्रेम हुनुपर्नेमा जोड दिए । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पुल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिए । सुकुमारी खोला पुल उद्घाटन कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष कल्याण बहादुर कार्की र टेंग्राखोला पुल उद्घाटन वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईको अध्यक्षतामा भएको हो ।