धरान : सुनसरी प्रहरीले इटहरी क्षेत्रमा मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत कार्तिक ९ गते इटहरी ६ मा रहेको आर.सी.टी.मार्केट छेउमा पार्किङ गरी राखेको नवीन बोगटीको को १५ प २९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । यस्तै, फागुन १२ गते बिहीबार पनि इटहरी ६ स्थित इटहरी मेडिकल छेउमा पार्किङ गरी राखेको को ३६ प ९६४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । 

प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका १२ घर भई हाल इटहरी ८ गैसारमा डेरा गरी बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, इटहरी २० का २४ वर्षीय सरोज कार्की र मोरङको मिक्लाजुङ गाउँपालिका ५ का २८ वर्षीय पूजन भन्ने अजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उनीहरूलाई इटहरी क्षेत्रबाट नै मोटरसाइकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको पनि प्रहरीले जनाएको छ ।