चतरा : वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दीमा २०७४ सालको शिवरात्रिको अवसरमा फागुन १ गते वडाध्यक्ष हरिकृष्ण भट्टराईले शिवालय मन्दिर शिलान्यास गरेका थिए।
उक्त मन्दिर निर्माण स्थलमै मेयर निलम खनालले पुन शिवरात्रिकै दिन आज अर्को शिलान्यास गरेका छन् । मन्दिरको निर्माणको क्रममा रहेको र जगको काम समेत सम्पन्न भइसकेको छ । मेयर खनालले शिलान्यास भएर जग निर्माण भएको मन्दिरको शिलान्यास गरेका हुन् ।
४ वर्ष अगाडि स्थानीयवासीको चाहना र अग्रसरताबाट सङ्कलन भएको रकमबाट शिलान्यास भएर मन्दिर निर्माणले गति समेत लिएको थियो । मन्दिर निर्माणको लागि जगको निर्माणको काम भइसकेको छ। स्थानीयवासीले निर्माण समिति गठन गरेर मन्दिर निर्माणको प्रक्रिया अगाडि बढेको थियो । स्थानीयले चन्दा सङ्कलन गरेर मन्दिर निर्माणको काम गरेका थिए। 
तर केही समय पछि मन्दिर निर्माणकालागि कतैबाट बजेट व्यवस्थापन हुन नसके पछि मन्दिर निर्माणको कामले गति लिन सकेन । वडा, नगर र विभिन्न सङ्घ संस्थामा बजेटकालागि माग गर्दा बजेट विनियोजन नभए पछि तत्कालीन मन्दिर निर्माण समितिले कामलाई गति सकेको थिएन । 
मन्दिर निर्माण कालागि जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गरियो । मन्दिर दर्ता हुनु अगाडि निर्माण समितिका अध्यक्ष प्रेम धामी थिए । मन्दिर निर्माण कालागि स्थानीय धनवति धामीले आफ्ना स्वर्गीय पती पलट धामीको स्मृतिमा जग्गा दान गरेकी थिइन् ।
शिलान्यास भएको ४ वर्ष र मन्दिर दर्ता भएको ३ वर्षसम्म सरोकारवाला सरकारी निकायले मन्दिर निर्माण कालागि बजेट विनियोजन गर्न चासो दिएनन् । तर नगरले चालु आर्थिक वर्षमा २ लाख मन्दिर निर्माण कालागि विनियोजन गरेको छ। वडा कार्यालयले मन्दिर निर्माण उपभोक्ता समिति समेत गठन गर्‍यो । तर मङ्गलवार पुनः मन्दिर शिलान्यास भए पछि स्थानीय छक परेका छन् । स्थानीयले मन्दिर २ पटक शिलान्यास भएको भन्दै अचमीत भएका छन् । वडाध्यक्ष र मेयरको टकराब देख्दा स्थानीयले अव चुनाव आएको महसुस गरेको गरेको एक स्थानीय नेताले बताए । 
यता विकास निर्माणमा एमाले अग्रसर भएको भन्दै मेयर खनालले आफू विकास विरोधी नभएको जिकिर समेत गरे। उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश समितिका सदस्य मनोज पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
८ लाख लागत अनुमान गरिएको मन्दिरमा नगरपालिकाले २ लाख बजेट विनियोजन गरेको छ । शिलान्यास कार्यक्रममा उपस्थिति नभएका वडाध्यक्ष भट्टराईले पुन: मेयरले शिलान्यास गर्नुलाई एउटा बच्चाको दुई पटक न्वारन गर्नु जस्तो भएको बताए ।