धरान : इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्तर्गत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ । 

इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई वर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले आफ्नो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फड्को मारेको बताए । इटहरी उपमहानगरपालिकाका बासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाइ गरेको बताए ।

इटहरीवासीले गाँस काटेर दिएको करबाट इटहरी वनेको उनको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दाबी गरिन । उनले यो इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्त्वपूर्ण गौरवको कार्यक्रम रहेको बताइन ।

शिक्षासेवी लेखनाथ घिमिरेले यति ठुलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार व्यक्त गरे । वडा नम्बर ४ का अध्यक्ष चन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदी,पूर्व प्रधानाध्यापक केशव सुवेदी, इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई, पूर्व प्रधानाध्यापक केशव सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोग मार्फत सङ्घीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरी भवन निर्माण हुने छ ।

Silaneyas

School